तलेजु भवानी र हाम्रो सन्तति
“ तलेजु भवानीप्रति राजपरिवारको भक्तिभाव र ईतिहास
खोज, अनुसन्धान र लेखन (अंग्रेजीमा) – शुसिला मानन्धर (सोधकर्ता)
नेपाली रुपान्तरण – गोपालमणि दर्जी (एम. एड, अंग्रेजी)
६ नं. बुधवारे – ४, धनकुटा ।
नेपालका राजाले वि.सं १८९७ (सन १८४०) मा पाटनको तलेजु र देगुतले मन्दिरको गुठी सम्वन्धमा लालमोहर जारी गरे। यो लालमोहरको मिति राजा राजेन्द्र विक्रम शाहको शासनकालमा पर्दछ। यो कागज तलेजु र देगुतले मन्दिर सम्बन्धमा पहिलो प्रामाणिक अभिलेख हो। गुठीसम्बन्धी यो महत्वपुर्ण लालमोहर राजा राजेन्द्र विक्रम शाहको पालामा जारी भएपनि यसको सम्वन्ध उनका पिता गीर्वाण युध्द विक्रम शाहसँग छ। विक्रम शाहदेव मल्ल संस्कृतिका संरक्षक मात्र थिएनन् वरु उनी मल्ल संस्कृतिको उत्थानमा समेत लागेका थिए। माथि उल्लेखित लालमोहरको भाव यसप्रकार थियो।
श्री
श्री तलेजु...............................श्री गुतले
१........................................२
यो सरकार यो आदेश दिन्छ कि ..........................................................................
यो कागजातले पंडित मित्र शर्मालाई पाटनका दुवै तलेजु र देगुतले मन्दिरको गुठी सञ्चालनको जिम्मेवारी वा अधिकार दिन्छ। यो भन्दा अगाडि यसको जिम्मेवारी पंडित पदम नव भट्टराईलाई दिइएको थियो। मेरो पिताले त्यो अवस्थामा रु. १२१ । वचाएर प्रत्येक वर्ष गुठी सञ्चालन गरिनु पर्छ। त्यस बाहेक बचेको रकम पुजारी वा गुठी सञ्चालकले व्यक्तिगत खर्च गर्न पाउनेछ भन्नु भएको छ। म यहाँ अगाडि झैं निरन्तर गुठी सञ्चालन गर्ने जिम्मेवारी पंडित मित्र शर्मालाई दिन्छु । मिति १८९७ पौष सुदी रोज “
यो अभिलेख त्रिभुवन विश्वविद्यालयको सि. एन. ए. एड. को अभिलेखालय शाखाबाट लिइएको हो। यो अभिलेख अनुसार राजा राजेन्द्र विक्रम शाहाका पिता गिर्वाण युध्द विक्रम शाहले पाटनका तलेजु र देगुतले मन्दिर सञ्चालन गर्न वार्षिक रुपमा (ठेक्का) पण्डित पदम नव भट्टराईलाई दिएका थिए। गुठी सञ्चालन गरी वार्षिक रुपमा रु.१२१। बुझाएर बचेको रकम गुठीको सञ्चालकले आफ्नो ईच्छा वमोजिम खर्च गर्न पाउँथ्यो। राजा राजेन्द्रले पं. पदम नव भट्टराई गुठी सञ्चालक वा पुजारीको अधिकार पंडित मित्र शर्मालाई सारिदिए।
यस लालमोहरले गुठी सञ्चालकका काम, कर्तव्य र अधिकार सम्बन्धमा विस्तृत रुपमा केही उल्लेख गरेको छैन। त्यसकारण पाटनको तलेजु र देगुतले मन्दिर पुगेर अवलोकन गर्ने र त्यहाँका पुजारीहरुसँग अन्तर्वाता लिने काम गरियो। दुवै मन्दिरमा पुजारीहरुमात्र वस्ने भएकाले तलेजुका पुजारी राम ज्वालानन्द राजोपाध्यासँग अनौपचारिक गफ कुराकानी भयो। उनका अनुसार उनी वाह्रौं पुस्ताका पुजारी हुन। लामो समयदेखि उनका पिता पुर्खाले सवै खाले पुजा गरेका थिए। उनीहरुलाई तावाहलको गुठीले आवश्यक खर्चवर्च टार्न रकम उपलब्ध गराउँदै आएको छ।
जव पाटनका तलेजु र देगुतलेगुठीसँग सम्वन्धित पण्डित पदम नव भट्टराईको वारेमा सोधियो, मुख्य पंडित राजोपाध्याले उनको वारेमा नकरात्मक टिप्पणी गर्दै भने “दुवै देवीहरु भवानीको गलौकिक स्वरुपहरु हुन। त्यसकारण दुवै मन्दिरका पुरोहितसँग अलौकिक शक्तिवारे ज्ञान हुनु जरुरी छ। भट्टराई तान्त्रिक पंडित नभएकाले यी मन्दिरहरुको पुजारी हुन सक्दैनन्। देगुतले मंदिरमा पुजारी नियुक्त गर्ने हालका प्रक्रियाले राम्रा पुजारीको कमी भएको छ। मुख्य पुजारीले भट्टराई जस्तो तान्त्रिक विद्या नजानेको पुजारीलाई पुजारीमा नियुक्त गर्दैनन। दुवै देवीको स्वरुप अलौकिक भएकाले यिनीहरुको स्वरुप रहस्यमय छ । घण् अनुसन्धानकर्ता अमात्य (२०२६) का अनुसार तलेजु शक्तिको संकेत वा द्योतक हो। आजकाल शक्ति त्रिकोण र पूर्णकलश ) को सांकेतिक मण्डल काठमाडौंको तिनवटै उपत्यकाको मुलचोकमा राखिएको छ।
रेग्मी (१९९६ः१७१) र तिवारी ( २०१९ ः ११।१२ ) का अनुसार तलेजु भवानी मल्ल राजाहरुको पारिवारकि ( कुलदेवता) पुजा गर्ने देवता हुन। उनीहरुले तलेजु भवानीको मन्दिर ( स्वरुप) आआफ्नो दरवारमा बनाए। जस्तै भक्तपुरमा राजा हरिसिंह देवले, काठमाडौंमा महेन्द्र मल्लले र पाटनमा सिध्दिनरसहि मल्ल्ले उक्त मन्दिरको स्थापना गराए। भक्तपुरको तलेजु भवानीको स्थापना सम्वन्धमा माथि जे कुरा उल्लेख भएपनि यसको वारेमा मानिसहरुको अर्कै धारण छ जुन पटक पटकको खोज अनुसन्धानमा खोजकर्ताले उल्लेख गरेको पाइन्छ। यसको अर्थ विभिन्न प्रमाणको आधारमा विभिन्न वंशका राजपरिवारले पारिवारिक देवता वा कुलदेवीको रुपमा तलेजु भवानीलाई लिएको पाइन्छ। खोजकर्ता तीर्थराज नागवानीका अनुसार हरिसिंह देव भक्तपुरमा तलेजु भवानीलाई ल्याउने प्रथम व्यक्ति थिएनन्। तलेजु भवानी त लिच्छवीकालदेखि नै नेपालको राजपरिवारको कुलदेवीको रुपमा पुजिदै आएकी थिइन्।
वृषदेव पहिला राजा थिए जस्ले व्यक्तिगत रुपमा राजदेवीको स्थापना गरे। जसलाई मानेश्वरी भनियो। पछि मल्लकालमा श्री मानेश्वरी, श्री स्वइष्ट देवता, श्री भवानी, श्री मानमाने स्वइष्ट, श्री दुर्गादेवी, र श्री स्वस्थ देवता तलेजु जस्ता नामले पुकारियो। त्यसकारण मल्लकालदेखि राजरिवारको कुलदेवताको रुपमा तलेजु भवानीलाई भनियो। त्यसैगरी खोजकर्ता म्यारी स्लसर (१८८२ः ३१७।३१९ ) ले भक्तपुरको तलेजु सम्वन्धमा उस्तै धारण राखेकी छन्। उनका अनुसार मानेश्वरी र तलेजु एउटै देवीका फरक फरक नाम वा स्वरुपहरु हुन। जुन लिच्छवीकालमा शाही परिवारको व्यक्तिगत देवताको रुपमा मानेको पाइयो भने मल्लकालमा कुल देवताको रुपमा मानेको पाइयो।
काठमाडौं उपत्यकाको तीन मल्ल राज्यहरुमध्ये भक्तपुरमा भएको तलेजुमन्दिर सवैभन्दा पुरानो मानिन्छ, जुन हरिसिंह देवदारा स्थापना गरिएको होइन तर परम्परागत रुपमा अघिल्ला राजाहरुले पुजा गर्दै आएको देवीलाई शाही परिवारको कुलदेवताको रुपमा भने मल्ल राजाहरुले पुजा गरेको भने पक्का हो। तलेजु भवानी मल्लहरुको ईष्टदेवता भएको पाईयो। उपतयकाका सवै मल्ल राजाहरु र उनीहरुको परिवारहरुको तलेजु भवानीप्रति श्रध्दा रहनुको साथै पुजा पाठका लागि पर्याप्त गुठी सञ्चालन भएको देखिन्छ। पाटनको तलेजु र देगुतले वारेमा लालमोहर जारी भएकाले यिनीहरुको वारेमा यहाँ उल्लेख गरिएको छ।
सिध्दिनर सिंह मल्ल पाटनका पहिला र स्वतन्त्र राजा थिए जस्ले काठमाडौं भन्दा छुट्टै प्रसिध्द पाटन राज्य स्थापना गरेका गरेका थिए। उनले गुरु विश्वनाथ उपाध्यायको सल्लाहमा पाटनमा तलेजु भवानीको निर्माण गरे।
मन्दिर अगाडि उनले पोखरी वनाउनुको साथै फुलको वगैंचा समेत निर्माण गरे। साथै उनले देगुतले भवानी मन्दिरको समेत जिर्णोदार गराए जुन शिवसिंह मल्लको शासनकालमा बनेको थियो। नेपाल संवत (नेवारी) ७८६मा उनका छोरा श्री निवास मल्लले प्रांगण फराकिलो बनाए। जस्लाई मुलचोक भनियो। श्री निवास मल्लले श्रीमति मार्गवतीको सहयोगमा तलेजु भवानीको मन्दिर वनाए। नेपालीहरुको महान चाड दशैंमा मात्र तलेजु भवानीलाई मन्दिरको प्राङगणमा ल्याइन्छ। उक्त दिन सर्वसाधारणको लागि उक्त मन्दिर खुला रहन्छ। श्री निवास मल्लले सन १६६२ मा देगुतले मन्दिरको मर्मत गरे। योगनरेन्द्र मल्लले सन १६८४ देखि १७०५ सम्म राज्य गरे। उनले सिक्कामा तलेजु – साहाय लेखेर तलेजु र देगुतलेप्रति आफ्नो श्रध्दा व्यक्त गरे। देगुतले मन्दिर अगाडि लामो खम्वामाथि आफ्नो र छोराको शालिक राखे। नेपाल संवत ( नेवारी संवत) ८५७ मा राजा विष्ण’ मल्ल र रानी चन्द्र लक्ष्मीले घण्टी प्रदान गरे।
सन १७६९ मा आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाहले काठमाडौं राज्यलाई एकीकरण गरी नेवारी धर्म र संस्कृतिलाई निरन्तरता दिने नीति अवलम्वन गरे। माथि उल्लेखित लालमोहर अनुसार राजेन्द्रविक्रम शाह र उनका पिता गिर्वाण विक्रम शाह तलेजु भवानीको भक्त थिए भन्ने कुरा थाहा हुन्छ। राजा रणबहादुर शाह र उनकी रानी पनि तलेजु भवानीको भक्त थिए। यसवाट प्रष्ट हुन्छ कि नेपालका राजपरवारहरु चाहे लिच्छवी वंशका हुन, चाहे मल्ल वंशका हुन अथवा शाह राजाहरु सबै सबै तलेजु भवानीका भक्त थिए।
ईतिहास लेखक ईश्वरीराज अर्याल (२०१८) का अनुसार भक्तपुरका राजा जगज्योति मल्ल ज्योतिषशास्त्र र संस्कृत साहित्यका ठुला विद्वान थिए। यिनले “ हरगौरी विवाह“,“कुञ्ज विहारी“ आदी नाटक लेखेका थिए। संस्कृत शास्त्रमा पनि दख्खल भएकाले संगीत ग्रन्थहरुलेखेका थिए। नेवारी भाषामा पुस्तकहरु लेखेका थिए । यिनी वडो धार्मिक तथा विद्वान राजा भएकाले भगवती तलेजु भवानी अति प्रशन्न भई उनीसँग “पासा” खेल्दथिन् तर पछि अरुले यिनको चियो चर्चो गर्न लागेको र राजाको मनमा कुभावना उत्पन्न भएको हुदा त्यसपछि भगवती लोप भइन्।
तलेजु भवानीको खोज, अनुसन्धान र लेखक शुसिला मानान्धरको अनुसार हाम्रो पुजनीय पुर्वज पुर्खाको आगमन लिच्छविकालको शुरुमा नै भएको हो भन्ने पुष्टि हुन्छ। तसर्थ वहाँहरुको सन्तान हालसम्म भक्तपुरमा स्थायी वसोवास गरी बसेको पक्कै हुनुपर्छ। पन्ध्रौं ( १५ औं शताव्दीको मध्यतिर ( मन नारायणदेखि धनबहादुर, चन्द्रलाल श्रेष्ठ(७) सातौं पुस्ताको सरदर आयु ७० वर्ष मान्दा ७०७ ४९० वर्ष, २०७०–४९०= वि.सं.१५८० मा नेपालको भक्तपुरदेखि पुर्वको जिल्ला तेह्रथुमको फम्फेवाको भेक ठाउँमा आई वसोवास गरी वस्नु भएको हाम्रो पुर्वज पुर्खा मननारायण श्रेष्ठ थिए। वहाँका तीन भाई छोराहरु क्रमश, भण्डारसिंह, करविर र कान्छो भाई कुविरसिंह श्रेष्ठ थिए। विचको माईला भाई करविर श्रेष्ठ करविर श्रेष्ठ जिल्ला धनकुटाको पुर्वमा पर्ने अति रमणीय स्थान छनं. बुधवारेको राजापोखरी भन्ने ठाउँको खोला पहिरो नलाग्ने, खेतीपाती गर्न हराभरा उब्जाउ भुमी हेरी ठहराई अति उचित ठाउँमा घर वनाई घरजम गरी बस्तु भएछ। जो आज वहाँका ६ (छ) वाजेको सन्तान भनेर सुरु वसोवास स्थानदेखि तराई मधेश राजधानी र देशविदेशमा पनि फैलिएर नाम र दाम कमाई परिचित छ।
माईला बाजे श्री करविर श्रेष्ठका सन्तानहरु आज हामी विभिन्न ठाउमा छरिएर जहाँ जहाँ रहेपनि हाम्रो एउटै छाता हो तलेजु भवानी जस्को ओतमा हामी वसेको छौं। करविर श्रेष्ठका सन्तानहरुले विभिन्न कालखण्डमा विभिन्न संघसस्था तथा समाजमा गरि आउनु भएका केही महत्वपुर्ण जिम्मेवारी एवम् कार्यहरुलाई जेठा, साईला र काईला वाजेको सम्वन्धमा अरु दाजु भाईवाट उल्लेख भई सकेको हुदा वाकी तीन (३) वाजेको सम्वन्धमा केहि संस्थाहरुको अभिलेख अनुसार केहि केहि देखेका, सुनेका र भोगेका कुराहरुको खोजी गरी टिपन टापन गर्ने प्रयास गरेको छु।
शैक्षिक सेवा
विभिन्न समयमा करविर श्रेष्ठका (हाम्रो ) सन्तानहरु विद्यालयको गरिमामय उच्चतम पदमा रही शैक्षिक सेवा गर्दै आउनु भएको श्री शारदा माध्यमिक विद्यालय चौविसे १, धनकुटाको अभिलेखमा पाईन्छ।
विध्यालय व्यवस्थापन समितीमा अध्यक्षहरु
|
न. |
पद |
नाम |
अवधी |
तह |
|
१ |
अध्यक्ष |
श्री धनबहादुर श्रेष्ठ |
२०१८ देखि २०२१ |
नि.मा.वि. |
|
२ |
अध्यक्ष |
श्री भिमबहादुर श्रेष्ठ |
२०२१ देखि २०२४ |
मा.वि. संस्थापक |
|
३ |
अध्यक्ष |
श्री देवेन्द्रकुमार श्रेष्ठ |
२०२४ देखि २०२९ |
मा.वि. |
|
४ |
अध्यक्ष |
श्री हरिभगत श्रेष्ठ |
२०६६ देखि २०७० |
उ.मा.वि |
जेठा बाजे बलविरका छोरा माइला इन्द्रविर श्रेष्ठका सन्तानहरु लेखापढी र स्थानीय कामकाजमा निपुण भएकाले थरी, सुव्वा र जिम्मावलहरुको हरेक कार्यमा लेखापढी लगायत अन्य स्थानीय कामकाज गर्न त्यस जमानाको कारवारीको पदवी पाई काम काज गर्दथे। ईन्द्रविरका नाती गोपीलाल श्रेष्ठले जड्विर श्रेष्ठ (एक खुट्टे) मुखियाको थरी भाग किनी आफ्ना दाजुभाईमा अंश भाग गरि थरि मुखियाको कामकाज चलाई आएका थिए। थरी गोपीलालको मृत्युपछि केही समयमै पञ्चायत व्यवस्थाले थरी सुव्वा खारेज गर्यो। ईन्द्रविरका सन्तानहरु पहाडे पशुपालनमा व्यवसायमा अग्रपंक्तिमा थिए। लक्ष्मीनारायण श्रेष्ठ ( कारवारी साईला ) ले खर्कमा सयौं गाई भैंसी पाली खारेर वचत रहेको घिउ टिनमा लगाएर बोकाई मधुमल्ला र लेटाङ बजारमा बेच्दथे।
करविर श्रेष्ठका माईला छोरा कृष्णविर श्रेष्ठका सन्तानहरु उस जमानमा पनि र घर र घर वरिपरिको क्षेत्र हमेशा शुध्द र सफा राख्नुपर्छ भन्नेमा अग्रसर थिए। एउटा उल्लेखनीय प्रसङ्ग छ। छविलाल श्रेष्ठ ( लम्मा) को आमा ९० औँ उमेरमा पनि गाउँको हरेक व्यक्ति जन्मेको, मरेको, विवाह भएको आदि कुराहरुको साल, महिना, गते र वार सबैको तिथि मिति ठीक ठीक वताउन हुन्थ्यो। वहाँको स्मरण शक्ति आजको एकाइशौं शताव्दीको कम्प्युटरको दिमाग थियो भन्नुमा अत्युक्ति नहोला।
करविरका कान्छा छोरा रामननारायण श्रेष्ठका सन्तानहरु भुत, प्रेतादिहरुको विश्वास भएको जमानामा नरवहादर श्रेष्ठ (एक्ले बुढा) तान्त्रिक विद्या थिएन तापनि धुप धुवार वा अक्षताले यसो त्यसो अनि यताउती ड्ड गर्दा बिरामीहरु जाती हुन्थे। यस्ता कैयौं उदाहरणहरु छन्। वहाँको सन्तानहरु नन्दलाल श्रेष्ठ, छविलाल श्रेष्ठ र रत्नवहादुर श्रेष्ठ वास्तविक धामी नै उत्रेका थिए। छविलाल श्रेष्ठ जस्लाई देवी उतार्न खप्पिस हुनु भएकाले देवीलाल पनि भनिन्थ्यो। वहाँको जीवनकाल तक हाम्रो देवाली कुलपुजाको पुजारीका हुनुहुन्थ्यो। यसरी माईला वाजे अम्बरे वाजे र कान्छा वाजेका पूर्व सन्तानहरुले पनि आ आफ्ना स्थानमा समय अनुकुल सानो तिनो ख्याति कमाएका थिए। जो आज ६ वाजेको सन्तान भनेर उद्गम स्थानदेखि मधेश तराई राजधानी र देशविदेशसम्म फैलिएर फलानोको सन्तान भनेर परिचित छन।
- थप खोज, अनुसन्धान र लेखन
- हरिभगत श्रेष्ठ
- चौविसे १, ६ नं. बुधवारे,राजापोखरी धनकुटा
- मिति २०७८।११।२७
