मिक्लाजुंग

जिल्ला सदरमुकाम विराटनगरदेखि पूर्वउत्तरमा अवस्थित समुद्री सतहदेखि दुई हजार ४ सय मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजंगा लगायतका हिमशृङ्खला तथा पूर्वका १३ वटा जिल्ला, एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सुर्योदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । यहाँबाट मेघ गर्जेको आकाशमा हैन मिक्लाजुङको फेदीमा सुनिन्छ । यो गड्याङ गुडुङको आवाजले हामी आकाशमा त पुगेका छैनौं वा स्वर्ग भनेकै यही हो कि जस्तो लाग्दछ । उर्लाबारीको किसान चौकबाट उत्तर लाग्ने टाँडी–रमिते ग्राभेल सडक हुँदै करिब २७ किलोमिटर दूरीमा रमितेखोला पुग्न सकिन्छ । रमितेखोला गाविस भवन रहेको (बैकुण्ठे) आइतबारे डाँडाबाट वडा नं. ३ जौवारी हुँदै करिब २० किलोमिटर उत्तर पूर्व पैदल जादाँ मिक्लाजुङ पहाडको डाँडा पुग्न सकिन्छ ।

चौबिसै घण्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्था एवम् दृश्यावलोकनबाट लोभिने गरेको पाइन्छ । पत्रकार भण्डारीका अनुसार वर्षात्को समय होस् वा हिउँदको समय वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने हुनाले यहाँ सुर्योदय अवलोकन गर्न चाहनेका लागि पनि उत्तिकै महत्वपूर्ण छ । एकै ठाउँबाट एकसाथ १४ जिल्लाको अवलोकन गर्नसकिने मिक्लाजुङ दृश्यावलोकन का साथै पदयात्रा समेतका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । अत्यन्त रमणीय प्राकृतिकस्थल भएर पनि अत्यावश्यक पूर्वाधार एवं उचित प्रचारप्रसारका अभावमा ओझेलमा परेको सो स्थानको विकास गर्नसके यसले पर्यटन क्षेत्रमा नयाँ आयाम ल्याउने छ ।

समुन्द्री सतहबाट करिब २ हजार ४ सय मिटर उचाईमा अवस्थित मोरङ, धनकुटा, पाँचथर, इलाम जिल्लाको संगम स्थल मिक्लाजुङबाट पदयात्राका लागि मार्गहरूको समेत विकास गर्न सकिन्छ । मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित अति प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल चमेरे ओढार अर्को धार्मिक गन्तव्य स्थल हो । किम्बदन्ती अनुसार पाण्डपहरू गुप्तवास जाँदा आफ्ना हतियारहरू महादेवलाई पुकारेर महादेवको आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चार कोठा भई भित्रभित्रै भर्र्याङ् समेत बन्न गएर ढुंगाको टुप्पोसम्म निक्लिन सकिने र प्रवेशद्वार एक मात्र भएको त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए । सस्त्रअस्त राखेर बाहिरपटी एउटा मूर्दा झुड्याई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने विश्वास चल्दै आएको छ । जुन अहिले चमेरे ओढारका नामले परिचित छ । यतिमात्र हैन महादेवले मिक्लाजुङ चुचुरोबाट महाकाली, महादुर्गा रमहासरस्वती देवीलाई नेपालको पूर्व खण्ड देखाई तिमीहरू यही मिक्लाजुङमा विराजमान गरी पूर्वी नेपालमा संरक्षण गर्नु र म नेपालको मध्य काठमाडौंको बागमतिको किनारमा विराजमान गरी पशुपतिनाथको नामले चिनी नेपाल राष्ट्रको संरक्षण गर्नेछु भनी महाकाली, महादुर्गा र सरस्वतीलाई अह्राएर गएको बताइन्छ । उता धार्मिक पक्षमै जोडिएको अर्को आश्चर्यजनक विशेषता पनि यहाँ छ । यहाँ खडेरी लाग्दा र वर्षायाम शुरू हुँदा पनि तोप पड्केको आवाज गाउँन थाल्दछ ।

भू–धरातल विकटता र मौषम प्रतिकूलताका कारणले पर्यटकीय स्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाहरूका बासिन्दाहरूका लागि परिचित हुँदा हुँदै पनि यो स्थल ओझेलमा रहेको छ । यो पहाड मोरङ जिल्लाको उत्तरी पूर्वको अन्तिम सिमा मात्र नभएर रमितेखोला गाविसको पनि उत्तरी सीमाना रहेको छ । गाविसको सीमा अवस्थाको दृष्टिकोणले उत्तरी पश्चिमी भागमा धनकुटा जिल्लाको ६ नं. बधबारे गाविस उत्तरी भागमा पाँचथर जिल्लाको लिम्बा गाविस र पूर्वी भागमा इलाम जिल्लाको साक्पारा गाविसहरू छन् । रमितेखोला गाविस वडा नं. ३ स्थित पर्ने यो मिक्लाजुङ डाँडा पथरिलो चट्टानी भागले बनेको डाँडा माथिको वरिपरी खसुर डाले घाँस र लालीगुराँसको जंगलको बीच रहेको छ ।

यति मात्रै हैन यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरूङ्गीहरूको बासस्थान लालीगुराँस, निगलो, जुडीबुटी अनि मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नास हुने आफ्नो आयस्रोत बढ्ने, सन्तान नहुनेलाई सन्तान हुने बताइन्छ । अझ भन्नुपर्दा प्राकृतिक सौन्दर्यको भण्डार मिक्लाजुङको वर्णन गरेर साध्ये छैन ।