परिचय

पुर्ख्यौली यात्रा र वंशीय विरासत

श्री करबिर श्रेष्ठका पुर्खाहरूले काठमाण्डौ उपत्यकाको ऐतिहासिक शहर भक्तपुर छोडी पूर्वाञ्चलको विकट गाउँमा आएर बसोबास गर्ने निर्णय लिनु त्यतिबेलाको नेपालको परिवेशमा अत्यन्तै साहसिक, दूरदर्शी र चुनौतीपूर्ण कार्य थियो। त्यो समय भौगोलिक कठिनाइ मात्र होइन, शासन व्यवस्था, न्याय प्रणाली र सामाजिक सुरक्षाको अवस्था समेत अत्यन्तै अविकसित र व्यक्तिवादी थियो। व्यापार–व्यवसायका अवसरहरू सीमित थिए र आर्थिक सम्भावनाहरू पनि न्यून नै थिए।

यस्ता कठिन परिस्थितिका बीच पनि पुर्खाहरूले आफ्ना सन्ततिहरूको उचित लालन–पालन, संस्कार र मूल्यमा कुनै कमी हुन दिएनन्। आज त्यो परिवार एक सुदृढ, संगठित र विकसित वंशको रूपमा फैलँदै गएको देख्दा पुर्खाहरूको आत्माले अवश्य पनि सन्तोष र गर्व अनुभूति गरिरहेको हुनुपर्दछ।

समाज विकसित हुँदै जाँदा मानिसहरू आफ्ना पुर्खा र वंशप्रति गौरव अनुभूति गर्न थाल्छन् र आफ्नो इतिहासलाई लिपिबद्ध गरी भावी पुस्ताका लागि सुरक्षित राख्ने प्रयास गर्छन्। यही सोचअनुसार श्री करबिर श्रेष्ठका सन्ततिहरूले विभिन्न कालखण्डमा आफ्नो वंशको यथार्थ र प्रामाणिक विवरण संकलन तथा अभिलेखीकरण गर्ने सराहनीय प्रयास गरेका छन्। साथै वंशका सदस्यहरूबीच आपसी एकता, आत्मीयता र गोलबन्धन सुदृढ बनाउने उद्देश्यले विभिन्न समिति तथा संस्थाहरूको स्थापना गरी निरन्तर सामाजिक तथा पारिवारिक सेवामा योगदान पुर्‍याउँदै आएका छन्।

यो वंशावली हाम्रो पुर्खाहरूले गरेको त्याग, संघर्ष र योगदानप्रति समर्पित श्रद्धाञ्जली हो। साथै यसले वर्तमान र भावी पुस्तालाई आफ्नो पहिचान, मूल्य र जिम्मेवारीप्रति सचेत रहँदै वंशीय गौरवलाई निरन्तरता दिन प्रेरणा प्रदान गर्ने आशा गरिएको छ।